जितिया पर्व, २०८२ को शुभकामना
परापूर्वकालदेखि तराई–मधेशका आमाहरूले आफ्ना सन्तानको दीर्घायू, सुख, शान्ति र समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाउँदै आएको जितिया पर्व, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
आश्विन कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाइने यस पर्वमा आमाहरूले कठोर निर्जला उपवास बस्दै मातृत्वको गहिरो भावनालाई उजागर गर्छन् । ‘जिवित्पुत्रिका व्रत’ को नामले चिनिने यो पर्व मातृस्नेह, धर्म, प्रकृति र संस्कृतिप्रतिको श्रद्धाको अनुपम प्रतीक हो । यो पर्वले परिवारमा एकता, सन्तानप्रतिको उत्तरदायित्व र महिलाको आत्मबललाई सशक्त बनाउँदछ । यसले आमालाई मात्र होइन, सम्पूर्ण समाजलाई सन्तानको भलाइका लागि समर्पित हुन प्रेरणा प्रदान गर्दछ ।
जितिया पर्वका अवसरमा थारु समुदायले गर्ने ‘झमटा नाच’, मधेशी समुदायले मरुवा रोटी खाने परम्परा र पूजामा वनस्पतिजन्य सामग्रीहरुको प्रयोगसहित पर्वसंग सम्बन्धित पौराणिक कथा श्रवण गर्ने जस्ता कार्यले हाम्रो देश र समाजको विविधता र मौलिकता झल्काउँदछ । जितियामा प्रयोग गरिने केराको पात, घिरौला, तोरीको पिना, च्युरा, दही, फलफूल आदिले प्रकृतिप्रतिको सम्मान र जैविक जीवनशैलीको सन्देश पनि बोकेको छ । यी सामग्रीहरूले प्रकृतिप्रतिको श्रद्धा र जीवनचक्रको सम्मान दर्शाउँदै स्थानीय उत्पादनको संरक्षण र पर्यावरणमैत्री संस्कृतिको प्रवद्र्धनमा सघाउँदछ ।
सनातन धर्मको गहिरो आस्था र व्रत–पूजाको परम्परालाई यो पर्वले जीवन्त राख्दै पुस्तान्तरणमा सहयोग पुग्दछ । निर्जला उपवास, प्राकृतिक सामग्रीको प्रयोग र पौराणिक कथासँग जोडिएको श्रद्धा यस पर्वको आध्यात्मिक गहिराइ हो । यसले धर्म, संस्कृति, प्रकृति र समाजलाई एकै सूत्रमा बाँध्ने अद्भुत शक्ति समेत बोकेको छ ।
अन्त्यमा, मातृत्वको सम्मान र मातृस्नेहको अद्भुत प्रतीकका रुपमा रहेको जितिया पर्वले महिलाको धार्मिक, सांस्कृतिक र सामाजिक योगदानलाई उजागर गर्दै धर्म र संस्कृतिको संरक्षणमा उनीहरूको भूमिका पुष्टि गर्दछ । यो पर्वले व्यक्तिमा असल संस्कार, व्यवहार र सामाजिकताको विकासमा योगदान पु¥याउने विश्वासका साथ पुनः सम्पूर्ण नेपाली समुदायमा सुख, समृद्धि र सन्तानको कल्याणको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धन्यवाद ।
२०८२ भदौ २९ गते आइतबार ।
ने.सं. ११४५ ञलागा, सप्तमी ।