उपराष्ट्रपतिको कार्यालय

हरितगृह, लैनचौर

विश्व वातावरण दिवसका अवसरमा सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूको सन्देश

विश्व वातावरण दिवसका अवसरमा सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूको सन्देश 

एकाउन्न वर्षअघिदेखि संयुक्त राष्ट्र संघको आह्वानमा हरेक वर्षको जुन ५ लाई विश्व वातावरण दिवसका रुपमा मनाउँदै आएकोमा आज (जेठ २२ गते तद्नुसार ५ जुन २०२३) ‘प्लास्टिक प्रदूषणविरुद्ध लागौं’ (Beat Plastic Pollution) भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाउन लागेकोमा खुसी व्यक्त गर्दछु । यो अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना समेत व्यक्त गर्दछु । 

विश्वभर हरेक वर्ष उत्पादन हुने प्लास्टिकमध्ये आधा भन्दा बढी एक पटक मात्र प्रयोग हुने गरेको छ । यसले वातावरण प्रदूषित मात्र गरेको छैन, यसको व्यवस्थापन अत्यन्तै जटिल हुनुको साथै चुनौतिपूर्ण समेत बन्दै गएको छ । यसले प्रकृतिको स्वाभाविक सन्तुलनमाथि नकारात्मक दबाव बढाउँदै लगेको तितो यथार्थ बनेको छ । अतः प्लास्टिक प्रदूषणले सिंगो पृथ्वीलाई पार्ने प्रभावलाई न्यूनिकरण गर्न हामी सबैको हातेमालो अति आवश्यक भइसकेको छ । 

बढ्दो बसाई–सराई, महत्वपूर्ण जैविक विविधताका क्षेत्र वरपर बढ्दो शहरीकरण, जनताको पूर्वाधार विकासप्रतिको तीव्र चाहना र आवश्यकता, जल तथा वायु प्रदूषण, जलवायु परिवर्तनको कारणले हुने गरेको अतिवृष्टि, खण्डवृष्टि, अनावृष्टि आदि संरक्षण र दिगो विकासका लागि चुनौतीहरुलाई चिर्न सबै सरोकारवाला पक्ष सचेत र सावधान हुँदै दत्तचित्त भई अघि बढ्नु पर्दछ । यस अर्थमा वातावरण संरक्षण र दिगो विकासको चुनौतीहरुलाई अवसरको रुपमा परिणत गर्नका लागि सरोकारवाला बीचको सहकार्य, समन्वय र सहभागिताको आवश्यकता निर्विकल्प छ । यस सन्दर्भमा विश्व वातावरण दिवसको सान्दर्भिकता हरेक वर्ष बढ्दै गएको स्मरण गराउन चाहन्छु । 

नेपालको अन्तरिम संविधान ०६३ को धारा ८३ बमोजिम संविधानसभाले फोहोर मैला व्यवस्थापन ऐन ०६८ पारित गरेको र ०७२ को संविधानको धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्दै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुनबमोजिम क्षतिपूति पाउने व्यवस्था गरेको सर्वविदितै छ । पछिल्लो समय नेपालको वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्रै होइन आर्थिक, सांस्कृतिक र सामाजिक रुपमा पनि गम्भीर प्रभाव परेको छ । त्यसैले पृथ्वी र प्रकृति सबैको साझा हो भन्ने मूल मर्म बुझेर वातावरण प्रदूषण न्यूनिकरण गर्न सबै सरोकारवाला सचेत हुँदै सक्रिय सहभागिता अपरिहार्य छ । भावी पिढीलाई प्रकृतिसंग माया र प्रेम गर्न सिकाउदै वातावरण प्रदूषणले सिंगो मानव जातिमाथि पार्ने प्रभावको न्यूनिकरण गर्न सबै पक्ष सचेत भई अग्रसर हुनु पर्दछ ।  

अन्त्यमा, मानव क्रियाकलापले वन, जैविक विविधता संकटमा पर्दै विभिन्न खालका प्राकृतिक प्रकोपहरुको सामना गरिरहनु परेको सन्दर्भमा स्वच्छ र स्वस्थ जीवन निर्वाहका लागि प्रकृति र प्राकृतिक वातावरणलाई दिगो संरक्षणमा एकजूट भई लाग्न सबैलाई विश्व वातावरण दिवसमा हार्दिक अपील गर्दछु । सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई व्यक्तिगत र सामूहिक रुपमा प्रकृति र प्राकृतिक वातारणको संरक्षणमा सक्रियताका साथ लागेमा मात्र विश्व वातावरण दिवसको सार्थकता, सान्दर्भिकता र महत्वले मूर्तरुप लिन सक्छ । विश्व वातावरण दिवस–२०८० को अवसरमा फेरी पनि सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२१ जेष्ठ २०८० आइतबार ।  

                                                                                                                                                               

ताजा जानकारी

१४ बैशाख
२०८१

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० माघदेखि चैत्र मसान्तसम्म

पुरा पढ्नुहोस्
१८ माघ
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० कार्तिकदेखि पौष मसान्तसम्म

पुरा पढ्नुहोस्
०४ मंसिर
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि असोज मसान्तसम्म

पुरा पढ्नुहोस्
२२ श्रावण
२०८०

सूची दर्ता गरिएको सूचना

पुरा पढ्नुहोस्
१७ श्रावण
२०८०

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० बैशाखदेखि असार मसान्तसम्म

पुरा पढ्नुहोस्
११ असार
२०८०

विवरण सम्बन्धमा

पुरा पढ्नुहोस्