VP Speech Sarlahi

मधेसी सहिद प्रतिस्ठान, मधेस  प्रदेशद्वारा मिति २०७८/१२/१७ गते सर्लाहीको बरहथवा नगरपालिका २ हजरियामा आयोजित 'जनयुद्धका सहिद परिवारलाई राहत वितरण तथा सम्मान' कार्यक्रममा 
सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट व्यक्त हुने
सम्बोधन भाषण
जनयुद्धका सहिद परिवारलाई सम्मान तथा राहत वितरण कार्यक्रमका अध्यक्ष माननीय आन्तरिक मामिला तथा सञ्चार मन्त्रीज्यू,
पूर्वमन्त्री एवम् माननीय संघीय सांसदज्यूहरु,
मधेस प्रदेशका माननीय मन्त्रीज्यूहरु,
प्रदेशसभाका माननीय सदस्यज्यूहरु,
मधेस प्रदेश सरकारका उच्च पदस्थ कर्मचारी मित्रहरु, 
प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरु,
सर्लाही जिल्लाका जनप्रतिनिधिज्यूहरु, आदरणीय सहिद परिवारजनहरु,
कार्यक्रममा उपस्थित आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
पत्रकार साथीहरु,
यहाँहरु सबैमा मेरो हार्दिक नस्कार ।
१. सर्वप्रथमतः म आजको यो मधेस प्रदेश सरकार अन्तर्गत मधेसी सहिद प्रतिस्ठानद्वारा आयोजित सर्लाही जिल्लाका जनयुद्धका सहिद परिवारलाई सम्मान तथा राहत वितरण कार्यक्रमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु । साथै, यो कार्यक्रममा उपस्थित भएर यहाँका सहिद परिवार, जनप्रतिनिधि र सर्लाहीबासी दिदीबहिनी तथा दाजुभाइसँग भलाकुसारीको अवसर पाएकोमा खुशी व्यक्त गर्न चाहन्छु । 
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
२. हामी सबैलाई थाहा छ –जातीय, क्षेत्रीय, लिङ्गीय र वर्गीय असमानताको अन्त्यसहित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य, मानव मानवबीचको असमानताको अन्त्य, देशको आमूल परिवर्तन, आफ्नो पहिचान र अधिकार स्थापना तथा सार्वभौम राष्ट्र निर्माण र आन्तरिक राष्ट्रियता सुदृढीकरणसहितको एउटा समुन्नत र समृद्ध राष्ट्र निर्माणका लागि विभिन्न कालखण्डमा क्रान्ति तथा आन्दोलन भए । 
३. जनयुद्ध, जनआन्दोलन, १९ दिने ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलन या भनौ परिवर्तनका लागि भएका सबै प्रकारका क्रान्तिमा समाज, जनता र देशका लागि निकै शाहसी वीर वीरङ्गनाहरुले आफ्नो रगत बनागनुभयो, आफ्नो सुन्दर जीवनको आहूती दिनुभएको छ । ती वीर सहिदका आमाबुवा तथा परिवारजन आज यहाँ उपस्थित हुनुहुन्छ ।
४. तपाईंहरुका बहादुर छोरा छोरी, परिवारका सदस्यहरुको बलिदानबाट देशमा परिवर्तन आएको छ । सहिदका बलिदान, बेपत्ता योद्धाहरुका त्यागबाट, घाइते अपाङ्ग योद्धाहरुको रगत पसिनाबाट देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता सहितको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । देशले नयाँ संविधान पाएको छ । यो हामी सबै नेपालीका लागि गौरवको कुरा हो । यी सबै उपलब्धी जनताको जीवन परिवर्तन र समृद्ध राष्ट्र निर्माणका लागि मार्गदर्शक बनेको छ । 
५. म दोहोर्याएर भन्न चाहन्छु, यी सबै परिवर्तनको श्रेय महान् सहिदहरु, सहिद परिवारजन, बेपत्ता तथा अपाङ्ग योद्धा र उहाँका परिवारजनलाई नै जान्छ । म यस अवसरमा महान् जनयुद्ध र नेपालका सबै खाले क्रान्तिमा जीवन आहूती दिनुहुने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । सहिदहरुले पुर्याउनुभएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दछु । आदरणीय सहिद परिवारजनमा उच्च सम्मान व्यक्त गर्दछु ।
६. जनयुद्ध लगायतका क्रान्तिका महान् सहिदहरु र सहिदका परिवारजन हामी सबैका सम्माननीय, पुजनीय र आस्थाका केन्द्र हुनुहुन्छ । किनकी सहिदहरु, बेपत्ता तथा घाइते अपाङ्ग योद्धाहरु र उहाँहरुका परिवारजन कसैको नीजि हुँदैन । उहाँहरु सबैका नेपाली साझा आस्थाका केन्द्र हुनुहुन्छ । देशभन्दा माथि हुनुहुन्छ । सहिदहरु अजर छन्, अमर छन् । उहाँहरुको सपना महान् छन् । सबै सपना उच्च र निस्वार्थ थिए, जसले देश र परिवर्तनका लागि आफ्नो जीवनको बलिदान गरे । 
७. सहिदका सपना पूरा गर्न तपाईं हामी बाँचेका र सबै तहका सरकार तथा राज्यको दायित्व हो । सबै राजनीतिक दल तथा जनताको पनि हो । संघीय, प्रादेशिक र स्थानीय सरकारले सहिद र सहिद परिवारजनको सम्मानका लागि विविध कार्य गरिरहेका पनि छन् । मधेस प्रदेश सरकार अन्तर्गतको मधेसी सहिद प्रतिस्ठानले सर्लाही जिल्लाका जनयुद्धका सहिद परिवारलाई सम्मान तथा राहत वितरण गरेकोमा म धन्यवाद दिन चाहन्छु । र, यो कार्यप्रति प्रशंसा व्यक्त गर्न चाहन्छु । 
आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
८. मलाई लाग्छ, मधेस प्रदेश सरकार सहिद परिवार तथा जनताको चाहना पूरा गर्न प्रयासरत छ । आफ्नो सापेक्षतामा कोशिस जारी राखेको छ । जनयुद्ध दिवसमा सार्वजनिक विदा दिने निर्णय होस् वा जनयुद्ध तथा मधेस आन्दोलनको मर्मअनुसार पहिचान आउने गरी मधेस प्रदेशको नामाकरण गर्न सफल भएकोमा होस् । यो प्रदेशले नयाँ काम गरेकोछ । यो कार्यका लागि म मधेस प्रदेश सरकार र मधेस प्रदेशका सम्पूर्ण जनप्रतिनिधि र  मधेसी जनतालाई बधाई तथा धन्यवाद ज्ञापन गर्न चाहन्छु । 
९. मधेस सरकार तथा यहाँका जनताले परिवर्तनलाई पूरै आत्मसाथ गर्नुभएको छ । गौरव गर्नुभएको छ । र, परिवर्तनको संवाहक बन्नुभएको छ । यो वैचारिक प्रतिबद्धताको कुरा हो । 
१०. यद्यपी असल शासन, सुशासन, पारदर्शिता, जवाफदेहिता, जनताका आर्थिक सामाजिक जीवनमा परिवर्तन ल्याउन भने थुप्रै काम गर्नुपर्ने र चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । गरिबी उन्मुलन, शिक्षा, स्वास्थ्यमा सबैको सहज पहुँच, आवास, भौतिक पूर्वाधार निर्माण, भूमीको उचित व्यवस्थापन जस्ता थुप्रै काम जनताका हितअनुरुप गर्नुपर्ने देखिन्छ । बालविवाह, दहेज प्रथा, अन्धविश्वास, कुरिती, कु–संस्कार जस्ता समस्याहरु यहाँको विकासमा पर्खाल बनेर उभिएका छन् । यी समस्याका समाधानका लागि यहाँको सरकार तथा जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, विभिन्न संघ संस्था र समाजसेवी बुद्धिजीवि सबै एकताबद्ध भएर लाग्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु । 
भद्र महिला तथा सज्जन वृन्द
११. दश वर्षसम्म चलेको जनयुद्धले पक्कै पनि यी तमाम समस्याहरुको संबोधन गर्ने र समाजलाई नयाँ दिशातिर अग्रसर गराउने महान् उद्देश्य बोकेको थियो । जनयुद्धले सबै क्षेत्रमा एउटा उथुलपुथल ल्यायो । जनतालाई राजनीतिक रुपमा सचेत र आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्ने प्रेरणा दियो । अधिकार मागेर प्राप्त हुँदैन, त्यसका लागि संघर्ष गर्नुपर्छ भन्ने सिकायो । र, जनयुद्धले वर्षौँदेखि जरा गाडेर बसेको एकात्मक निरंकुश सामन्ती राज्य व्यवस्थाको अन्त्येका लागि एउटा महान् भूमिका खेल्यो । कसैले स्वीकार गरोस् या नगरोस्, सत्य कुरा के हो भने जनयुद्धकै कारण आज यो परिवर्तन सम्भव भएको हो । शान्ति संझौता, नयाँ संविधान निर्माण र यसको पूर्ण कार्यान्वयन यसकै मार्गदर्शक हो ।  
१२. वृहत् शान्ति संझौता भएको १५ वर्ष पूरा भइसकेको छ । तर, वृहत् शान्ति संझौतालाई हामीले समयमै निष्कर्षमा पुर्याउन सकिरहेका छैनौँ । संविधानसभाबाट संविधान निर्माण, सेना समायोजन लगायतका शान्ति संझौताका थुप्रै काम सम्पन्न भइसकेका छन् । तर, दुईवटा काम अझै बाँकी छन् । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानवीन आयोग क्रियाशील छ । तर, उसले सक्नुपर्ने काम बाँकी छन् । यी कामर्ला टुंगोमा पुर्याउने समय घर्किदै गएको छ । म यी आयोग र सरकारको ध्यानाकर्षण गराउन चाहन्छु की –शान्ति संझौताको बाँकी कामलाई छिटो टुंगोमा पुर्याऔँ । 
दिदी बहिनी तथा दाजुभाइहरु,
१३. हाम्रो नयाँ संविधान एउटा सहमतिको दस्तावेज हो । यो अग्रगामी छ । संविधानलाई समृद्ध बनाउन र पूर्ण कार्यान्वयन गर्न भने हामी सबैले थुप्रै मेहनत र प्रयास गर्नुपर्नेछ । सबै क्षेत्रका जनताका चाहाना, मागलाई पनि सम्बोधन गर्नुपर्नेछ । संविधान गतिशील दस्तावेज हो । यसलाई थपघट, परिमार्जन गर्दै समृद्ध बनाउँदै लैजानुपर्नेछ । सार्वभौमिकता, राष्ट्रियता र भौगोलिक अखण्डता जस्ता कुरा बाहेक संविधानका सबै धाराहरु परिवर्तनीय छन् । यसकारण हाम्रो नयाँ संविधानलाई उत्कृष्ट संविधान पनि भनेका छौँ । यसको कार्यान्वयनमा सबैको ध्यान केन्द्रित होस्, म सबैको ध्यानाकर्षण गराउन चाहन्छु । 
१४. अन्त्यमा, मलाई यो महत्वपूर्ण कार्यक्रममा आमन्त्रण गरेर सहिद परिवारजन, मधेस प्रदेशका जनतासँग भेटघाट र भलाकुसारी गर्ने अवसर दिएकोमा र यहाँ बसाईको क्रममा न्यानो आतिथ्यता प्रदान गरेकोमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री तथा मधेसी सहिद प्रतिस्ठानका अध्यक्ष माननीय मन्त्री भरत साह र सिंगो मधेस प्रदेश सरकारलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु । आउँदै गरेको नयाँ वर्ष २०७९ को अवसरमा यहाँहरु सबैमा हार्दिक शुभकामना ।
धन्यवाद ।

 

Recent Activities

26 Apr.
2024

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० माघदेखि चैत्र मसान्तसम्म

Read More
01 Feb.
2024

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० कार्तिकदेखि पौष मसान्तसम्म

Read More
20 Nov.
2023

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० श्रावणदेखि असोज मसान्तसम्म

Read More
07 Aug.
2023

सूची दर्ता गरिएको सूचना

Read More
02 Aug.
2023

सुचनाको हक सम्बन्धी ऐन बमोजिम सार्वजनिक गरिएको विवरण २०८० बैशाखदेखि असार मसान्तसम्म

Read More
26 June
2023

विवरण सम्बन्धमा

Read More