सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट २०७८ कात्तिक २५ गतेबाट सुरु भइ मंसिर ९ गतेसम्म सञ्चालन हुने बाह्रौँ राष्ट्रिय जनगणना-२०७८ प्रारम्भको अवसरमा दिनुभएको
सन्देश
प्रत्येक दश वर्षमा हुने राष्ट्रिय जनगणनाको बाह्रौँ शृङखला अर्थात् बाह्रौँ राष्ट्रिय जनगणना-२०७८ आज (२०७८ कात्तिक २५ गते) बाट प्रारम्भ हुँदैछ । नेपालमा जनगणना सुरु भएको शताब्दी बढी भइसके तापनि संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछिको पहिलो जनगणना भएकोले बाह्रौँ राष्ट्रिय जनगणनाको विशिष्ट महत्व छ ।
राष्ट्रिय उत्सवको रुपमा आजबाट सुरु भइ मंसिर ९ गतेसम्म सञ्चालन हुने राष्ट्रिय जनगणनाको भव्य सफलताको शुभकामना व्यक्त गर्दछु । राष्ट्रिय जनगणनामा सक्रिय सहभागी हुन र यो राष्ट्रिय अभियानलाई सफल बनाउन म देशबासी दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक अनुरोध गर्दछु ।
हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त धर्मनिरपेक्ष मुलुक हो । जनगणना तथ्याङ्क प्रणालीको मेरुदण्ड र विकासको आधार भएकाले जनताको जीवनस्तर, कूल जनसंख्या, जातीय, भाषिक, धार्मिक समुदाय तथा भौगोलिक अवस्थितिको जनसंख्या यसैबाट प्राप्त हुन्छ । जनगणनाबाट प्राप्त तथ्याङ्कका आधारमा नै विकास निर्माणका योजना तर्जुमा, सामाजिक सुरक्षा कार्यक्रम तय, शिक्षा, स्वास्थ्य र सुरक्षा जस्ता संविधान प्रदत्त जनताका मौलिक हक अधिकार तथा आधारभूत आवश्यकता पूरा गर्न आवश्यक पर्ने स्रोतको आँकलन गरिन्छ । त्यसैले जनगणना सरकारको मात्रै नभएर आम जनताको आवश्यकता हो ।
म सम्पूर्ण देशवासी दिदीबहिनी तथा दाजुभाइहरुमा जनगणनाका लागि घर आँगनमा आउनुहुने गणकहरुलाई निर्धक्क आफ्नो सत्य तथ्य विवरण उपलब्ध गराई सहयोग गर्न अपील गर्दछु । साथै राष्ट्रिय जनगणनामा प्रत्येक नेपाली जनताले दिनुहुने व्यक्तिगत विवरणलाई जस्ताको त्यस्तै उल्लेख गरी यथार्थ विवरण संकलन गर्न सम्पूर्ण गणक मित्रहरुलाई आग्रह गर्दछु ।
धन्यवाद ।
२५ कात्तिक २०७८