सम्माननीय उपराष्ट्रपति श्री नन्दबहादुर पुन 'पासाङ्ग'ज्यूबाट बडा दशैं २०७८ को अवसरमा दिनुभएको
शुभकामना सन्देश
नेपालीहरुको महान् चाड बडा दशैं-२०७८ लाई स्वागत गरिसकेका छौँ । देश तथा विदेशमा रहनुभएका हिन्दू धर्मावलम्बी लगायतका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले दशैं मनाइरहनुभएको छ । बडा दशैं-२०७८ को पावन अवसरमा राष्ट्रको निरन्तर समुन्नती, समृद्धिका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, सु-स्वास्थ्य समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भागौलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हो । हाम्रो देश विविधतायुक्त भाषा, धर्म, संस्कार-संस्कृतिले अत्यन्त भरिपूर्ण छ । संविधानले सबै धार्मिक, सांस्कृतिक, भाषिक समुदायलाई आफ्नो धर्म, संस्कृतिको संरक्षण एवम् सम्वर्द्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको छ ।
देशमा मनाइने सबै खाले धार्मिक तथा सांस्कृतिक चाड पर्वहरूले नेपालीहरूकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारालाई सुदृढ् गर्दै राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्दै आइरहेका छन् । बडा दशैंको यस पावन पर्वको माध्यामबाट नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाइचाराको अभिवृद्धि र राष्ट्रिय एकता अझै बलियो हुँदै जाने कुरामा विश्वस्त छु ।
नेपाली जनताको लामो संघर्षबाट देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था जस्ता राजनीतिक उपलब्धी प्राप्त भएका छन् । यी उपलब्धीलाई संस्थागत गरेर नयाँ संविधान बनेसँगै देश स्थायी शान्ति, दिगो विकास, राजनीतिक स्थायित्व र प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नती र समृद्धिको मार्गमा अग्रसर छ । यसबीचमा संविधानको पालन र राजनीतिक स्थायित्वमा केहीं चुनौती सृजना भए तापनि मुलुक लयमा फर्किएर विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको छ । बडा दशैंले राजनीतिक स्थायित्व, संविधानको पालन, दिगो विकास, राष्ट्रिय एकता, आर्थिक सामाजिक रुपान्तरणसहितको समृद्ध राष्ट्र निर्माणको लागि सबै नेपालीहरुलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न सबैलाई प्रेरित गर्ने अपेक्षा लिएको छु ।
बडा दशैंको अवसरमा मलाई तथा यस कार्यालयमा शुभकामना सन्देश पठाउनु हुने सबै संघ, संस्था तथा महानुभावहरूमा हार्दिक आभार व्यक्त गर्दछु ।
२९ असोज २०७८